Pages

Ads 468x60px

click here

Monday, May 20, 2013

Madhehi Party Article

मधेसका तीन ‘मसिहा’ भिन्नै मोर्चाको तयारीमा

मधेस एकता जिन्दावाद भन्दै, पार्टी फुटाउँदै

मधेस केन्द्रित दलहरुबीच एकता र मोर्चाबन्दीको नारा जति चर्कोसँग उठेको छ, त्यसको प्रयास भने कमजोर बन्दै गएको छ । आगामी संविधानसभाको चुनावमा एउटै मधेसी मोर्चा बनाउने चर्चा चलाइए पनि व्यवहारतः तीन मधेसी नेताका तीनवटा बग्लै मोर्चा बनाउने कसरत शुरु भएको छ । मधेसमा मोर्चाबन्दीका प्रस्तावकहरु कमजोर बन्दैछन् भने दलहरु एकअर्कालाई खुइल्याउन र आफूलाई नै मधेसको मसिहाका रुपमा दाबी प्रस्तुत गर्नमै व्यस्त छन् । मधेसी दलहरुलाई नजिकबाट नियाल्नेहरु मधेस एकता र वाम एकताको नारा उस्तै भएको बताउँछन् । 
‘अघिल्लो संविधानसभा निर्वाचन हुँदा ३/४ बटा रहेका मधेसी दलहरु अहिले २० भन्दा बढी भइसके’ एमाले सल्लाहकार समेत रहेका मधेसका बुद्धिजीवी शीतल झाले अनलाइनखबरसँग भने-’मधेसवादी दलहरुको एकता र वाम एकता उस्तै भयो । मधेस एकता जिन्दावाद भनेर मुड्की बजार्दा पार्टी फुट्छ ।’ मधेसी नेताका अनुसार आगामी संविधानसभाको चुनावमा मधेसवादी दलबीच एउटा हैन, तीनवटा मोर्चाको सम्भावना बढेको छ ।

पहिलोः उपेन्द्र यादवको नेतृत्वमा हालै एउटा मोर्चा छ । मधेसी र जनजातिका ८ पार्टी संलग्न रहेको संघीय लोकतान्त्रिक मोर्चामा केही मधेसवादी दल थपिनेछ । राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टी यसमा जाने लगभग पक्काजस्तो छ । महतोले विजयकुमार गच्छदार र महन्थ ठाकुरको नेतृत्व स्वीकार नगर्ने बताइसकेका छन्, उनको नेतृत्व कसैले स्वीकार गर्ने अवस्था छैन, यस्तोमा उपेन्द्रको नेतृत्वमा मोर्चाबन्दी गर्नुको विकल्प महतोसँग छैन ।

दोस्रोः महन्थ ठाकुरले मधेसवादी दलहरुको एउटै उम्मेदवार र एउटै चुनाव चिहृन राखेर चुनाव जाने प्रस्ताव अघि सारे पनि ठूला दलहरुले अस्वीकार गरेका छन् । अब उनीसँग केही साना दलहरुलाई मिलाएर मोर्चा बनाउने विकल्प मात्र बाँकी छ । जेपी गुप्ता संयोजक रहेको तराई मधेस राष्ट्रिय अभियान र अनिल झाको संघीय सद्भावना पार्टीले महन्थको छहारी स्वीकार गरिसकेका छन् ।

तेस्रोः विजयकुमार गच्छदारलाई उपेन्द्र र महन्थले नेतृत्वमा स्वीकार गर्ने अवस्था छैन । उनी स्वयंम अरुको नेतृत्व मान्ने पक्षमा छैनन् । त्यसैले केही साना दलहरुलाई लिएर मोर्चाबन्दी गर्ने उनको तयारी छ । जसमा राजकिशोर यादवको फोरम गणतान्त्रिक र महेन्द्रको तमलोपा नेपाल जाने सम्भावना रहेको स्रोतले बताएको छ ।
कसरी बन्ला एउटै मधेसी मोर्चा ?
हरेकपटक सरकार बन्दा कुनै न कुनै मधेसी दलमा फुट भएकै छ । मधेस आन्दोलनबाट मधेसको सबैभन्दा ठूलो र राष्ट्रिय राजनीतिमा चौथो शक्ति बनेर आएको उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरम तीन चिरा भएको छ । साना-साना टुटफुट त उसले धेरैपटक व्यहोरिसकेको छ । फोरमबाट फुटेर बनेको फोरम लोकतान्त्रिक र गणतान्त्रिक दुबैले विभाजनको पीडा भोगिसकेका छन् ।

संविधानसभाको पहिलो निर्वाचनअघि कांग्रेस छाडेर महन्थ ठाकुरले गठन गरेको तराई मधेस लोकतान्त्रिक पार्टी पनि लामो समयसम्म एक रहन सकेन । महेन्द्र यादवले तमलोपा नेपाल गठन गरेका छन् भने साना साना फुट उसले पनि भोगेको छ । सबैभन्दा पुरानो पार्टी सद्भावना कति पटक फुट्यो गन्न पनि हम्मे-हम्मे पर्ने अवस्था छ ।

‘हरेकपटक सरकार बन्दा मधेसवादी पार्टीहरु नै फुट्नु सबैभन्दा दुःखद कुरा हो’ अर्का मधेसी नेता जेपी गुप्ता भन्छन्- ‘अहिले हामीले मोर्चाबन्दीको प्रस्ताव अघि सारेका छौं । तर, एउटै मोर्चाबन्दीको सम्भावना अब लगभग समाप्त भएको छ ।’

0 comments:

Post a Comment