skip to main |
skip to sidebar
Madhesh Article
डेटलाइन तराई : मधेस मोहको राजनीतिक मौसम
|
चन्द्रकिशोर झा |
सर्लाहीको बरहथवामा नेपाली
कांग्रेसले एउटा आमसभा राखेको थियो, बितेको शनिबार । बरहथवा, सर्लाहीको
एउटा चल्तीको ग्रामीण बजार हो । त्यस आमसभामा नेपाली कांग्रेसका नेता
रामचन्द्र पौडेलले आफू मधेस विरोधी नभएको कुरा प्रस्ट्याउनमा नै आफ्नो लामो
मन्तव्य खर्चिनुभयो । उहांँले नेपाली कांगे्रस र मधेसको सम्बन्धबारे पनि
विगतदेखि वर्तमानसम्मका अनेक आधार सुनाउनुभयो । केही पहिलामात्र एमाओवादी
अध्यक्ष प्रचण्डले सर्लाहीकै हरिवनमा आफूलाई मधेससँंग 'लभ' परेको खुलासा
गर्नुभएको थियो । एमाले नेता माधवकुमार नेपाल पुरै गम्छा भिरेर रौतहटको
दौडाहामा बारम्बार देखिनुहुन्छ । एमाओवादी, नेपाली कांग्रेस र एमालेका
नेताहरूको मधेसमा पटके घुमाइ बाक्लो छ । मोहन वैद्यदेखि मातृका यादव, अशोक
राईदेखि अन्य नयाँ शक्तिहरू पनि अहिले यतै ओइरिएका छन् । लामो समयसम्म
सिंहदरबार बास बसेका मधेसी दलका नेताहरू आफ्नो अखडामा फर्किने भई नै हाले ।
दल र नेताहरूको मधेसमा दौडाहामात्र भइराखेको छैन, आफू नै मधेसका सच्चा
हितैषी भएको दाबी गर्ने लहर नै चलेको छ । अर्थात नेपाली राजनीतिमा अहिले
मधेस मोहको राजनीतिक मौसम छाएको छ ।
एउटा ठूलो जनसंख्या बोकेको भूगोल जहांँको सामाजिक—आर्थिक स्थिति जटिल छ र
असन्तुष्टि पनि त्यतिकै छ । मधेस राजनीतिक प्राथमिकतामा पर्नथाल्नु प्रथम
दृष्टिमा सुखद पक्ष हो । तर मधेस छिर्ने दलहरूको योजना र मनसुवा हेर्दा
त्यति उत्साहित हुने अवस्था छैन । यसका केही मौलिक कारणहरू छन् ।
एमाओवादीको पक्षमा यसपालि पहाडमा लहर छैन भन्ने आंँकलन गर्दै मधेसबाट
त्यसको क्षतिपूर्ति लिन खोज्दैछन् । यस निम्ति उसको विगत केही वर्षदेखिको
तयारी पनि हो । मधेसी दलहरूलाई आफ्नो नेतृत्वको सरकारमा बम्पर हिस्सा दिएको
लाभ उसले आगामी चुनावबाट लिन खोजिरहेको छ । सिंहदरबार बासपछि तुलनात्मक
रूपमा आफ्नो स्थिति कमजोर बनाएको मधेसी दल र नेतृत्व भएको मौकालाई उसले
आफ्नो पक्षमा अनुवाद गर्न खोजेको छ । एमाओवादीले मधेसमा नेपाली कांग्रेस र
एमाले संघीयता विरोधी हो भन्ने भ्रम छर्न सफल भएको भन्ठानेको छ । उसले
मधेसी जनतामा दुइटा कुरा पस्किन खोज्दैछ- एउटा आफूविना संघीयता प्राप्ति
हुन नसक्ने र अर्को उसले आफ्नै मोडलको भए तापनि संघीयता ल्याई छाड्ने ।
संगठन विस्तारका निम्ति उसले विभिन्न दलबाट नेता र कार्यकर्ताहरू चोर्दैछ ।
नेपाली कांग्रेसका लागि मधेसमा पुनर्बहाली चुनौतीपूर्ण छ । त्यो कुरा हालै
बरहथवाको आमसभामा पनि देखियो । स्थानीय कार्यकर्ताहरूले गुटबन्दीका कुरा
उठाए, केन्द्रीय नेताहरूले जिल्ला-जिल्लामा आआफ्ना विशेष पात्रलाई
प्रोत्साहित र संरक्षण गरेको गनगन गरे, एक पक्षले अर्को पक्षलाई असहयोग
गरेको असन्तुष्टि पोखे । मधेसमा एउटा स्तरमा नेपाली कांग्रेसको अप्ठ्यारो
आफ्नै दलभित्र छ । जिल्ला-जिल्लामा स्थानीय नेताहरू एकले अर्कालाई
अहिलेदेखि नै चुनाव हराउने योजनामा लागेका छन् । आफ्नो सम्भावित निर्वाचन
क्षेत्रमा क्रियाशीलता देखाउनेभन्दा पनि आफ्नै दलका प्रतिस्पर्धीको
निर्वाचन क्षेत्रमा असजिलो बनाइदिने दिनचर्या थपिएको छ । कुन क्षेत्रमा कुन
कांग्रेसीले अन्तरघात गर्छ, त्यो खुला रहस्य नै भइसकेको छ । अर्थात एउटा
कांग्रेसीले पहिला आफ्नै अर्का कांग्रेसीलाई जित्नु जरुरी छ । दोस्रो
संघीयताको सन्दर्भमा आफ्नोबारे फैलाइएको भ्रमलाई चिर्नु जरुरी छ । एमाले
आफ्नो चिनिएका नेताहरू अरुतिर लहसिँदै जांँदा आफैभित्रको व्यवस्थापनमा
अल्भिmएको छ ।
मधेसका सन्दर्भमा यसलाई वर्गीकृत गरी राजनीतिक समीकरण बनाउने सोच बढेको छ ।
त्यो भनेको कोशी पारिको तीन जिल्लालाई एउटा डोकोमा राखेर मूल्याकंन गर्ने,
सप्तरीदेखि पर्सासम्मलाई एउटा क्षेत्रमा, बीचको चितवनलाई फेरि अलग्गै,
उत्ता नवलपरासीदेखि बांँकेसम्म एउटा तथा दाङ, बर्दिया, कैलाली र
कञ्चनपुरलाई एक ठाउंँमा राखेर नियाल्ने गरिएको छ । यसको पछाडिको कारण त्यो
क्षेत्र विशेषको जनसांख्यिक बनोट, सामाजिक मनोविज्ञान, पछिल्लो निर्वाचनमा
देखिएको रुझान तथा विगतका क्षेत्रीय आन्दोलनहरूबाट अभिव्यक्त चाहना नै हो ।
विशेषगरी एमाओवादी र नेपाली कांग्रेस यसै आधारमा राजनीतिक क्रियाशीलता
बढाइराखेको देखिन्छ । एमाओवादीले विगतमा मधेसका ती क्षेत्रमा कम मत पाएको
थियो । यसका लागि उसले निर्वाचन क्षेत्र आधारित स्थानीय समीकरण र सन्तुलनको
खोजीकार्य तीव्र पारेको छ । कतिपय अवस्थामा एमालेबाट फुत्काएको जस्तो
देखिए पनि कांग्रेससँंग प्रतिस्पर्धामा आउन खोज्दैछ । पर्साकै सन्दर्भमा
उर्मिला अर्याल लगायतकाहरू एमाओवादीमा छिरे पनि त्यस जिल्लामा एमाओवादी
कांग्रेससंँग दोहोरो वा त्रिकोणीय प्रतिस्पर्धामा चुनावी संघर्षलाई
रूपान्तरित गर्न उद्यत देखिन्छ ।
मधेसी दलहरू रणनीतिको चाँजोपाँजोमै अलमलिएका छन् । तमलोपा अध्यक्ष महन्थ
ठाकुरले आउने शनिबार मधेसका सबै दललाई एउटै थलोमा छलफल गर्न निम्त्याएका
छन् । यो प्रयास त्यसै प्रवृत्तिको परिणति हो, जस अन्तर्गत मधेसका सबै
दललाई एकताबद्ध भएर आगामी चुनावमा जाने सोच राख्छ । जयप्रकाश गुप्ता, अनिल
झा लगायतका नेताहरू लामो समयदेखि यस विषयमा बहस गर्दै आइरहेका छन् । अन्य
दलमा पनि मधेसी दलहरू माझको सहयात्रा र सहकार्यबारे कुरा उठान हुँदै आएको
हो । र यसका लागि ठाकुरले अगुवाइ गर्नुपर्ने जोड पनि हुँदै आएको हो ।
तत्कालै चमत्कारिक तवरले मधेसी राजनीतिमा फेरबदल हुने स्थिति छैन । तर पनि
यी प्रयासहरूले चुनावको मुखसम्म एउटा आकार नलेला भन्न सकिंँदैन ।
सद्भावना पार्टीका राजेन्द्र महतो काठमाडौंमा अनशनमा बस्नुभएको छ । उहाँका
कार्यकर्ताहरू मधेस र पहाडका केही जिल्लामा समेत लामो समयसम्म अनशनमा थिए ।
निर्वाचनको तिथि घोषणा हुनुपर्ने मुख्य माग हो । सरकारले शान्तिपूर्ण
तरिकाले आन्दोलनमा बसेकालाई तत्काल सम्बोधन गर्नुपर्नेमा रहस्यपूर्ण तवरले
ढिलाइ र अलमल गर्दै आएको छ । निर्वाचनको सम्बन्धमा प्रस्टता अहिलेको मुख्य
राजनीतिक चासोको विषय हो । त्यसैगरी दल दर्ताको प्रावधान, मतदाता नामावली,
थ्रेसहोल्डको प्रस्ताव, संविधानसभा सदस्यको संख्या, वार्तारत सशस्त्र
समूहको व्यवस्थापन लगायतका विषयमा मधेसका अन्य राजनीतिक शक्तिले समेत
उठाउँदै आएका छन् । मधेसको जनसंख्यामा वृद्धि हुनु तर निर्वाचन क्षेत्र
नबढ्नु अन्यायपूर्ण र अस्वाभाविक हुन्छ । यी विषयहरूमा मधेसी दलहरूमा एकता
छैन । सरकारी संयन्त्रमा रहेको चार शक्तिको संयन्त्रको एउटा हिस्सा संयुक्त
लोकतान्त्रिक मधेसी मोर्चाका घटक दलहरूमध्ये कसैको नरम त कसैको मुखर स्वर
रहेको छ । यी सवालहरूको न्यायपूर्ण निरुपण नगरिकन मधेसमा चुनावी
हिस्सेदारीलाई वैध बनाउन सकिंँदैन ।
एमाओवादी लडाकूका शिविरहरू खाली भइसकेको, वाईसीएलको विगविगी मत्थर भएको र
थारु आन्दोलनमा उसको भूमिका लगायतका पक्षहरूलाई नोटिसमा राख्दै पश्चिमी
थरुहट क्षेत्रमा नेपाली कांग्रेस र एमालेसंँगै मधेसी दल पनि उत्साहित भएको छ
। वैद्य समूहले चुनावमा भाग लिए यसको दोहोरो असर हुन्छ । एउटा
संविधानसभाको निर्वाचन प्रक्रियामा फरक धारको सहभागिता र दोस्रो एमाओवादीको
मत विभाजन । विगतमा एमाओवादीले चुनाव जितेका क्षेत्रहरूमा अरु
प्रतिस्पर्धी दलहरूले यस्तै स्थितिको चाहना राखेर जोड-घटाउ सुरु गरेका छन् ।
एमाओवादीको केन्द्रीय नेतृत्वले सप्तरीदेखि कपिलवस्तुसम्मको मधेसी
जिल्लामा आफू यसपटक विस्तार हुने आत्मविश्वास बोकेको छ । तर उसलाई पनि
कांग्रेसजस्तै आफैभित्रको अन्तरकलहमा अल्भिनुपरेको छ । बाहिरबाट ल्याएर जति
प्रचार भएको छ, त्यसैगरी आन्तरिक व्यवस्थापन गर्न सकिएन भने त्यो त्यतिकै
घातक हुन्छ ।
मधेस मोहको तात्कालिक कारण यस क्षेत्रको मतलाई आफ्नो पक्षमा लैजानु हो ।
चुनावी राजनीतिमा यो स्वाभाविक हुन्छ । यसरी मधेस मोहको राजनीतिक मौसमबाट
फलिफाप को-को हुने हुन्, त्यो त अहिलेसम्म जनताको मनमा लुकेको छ । तर
विकसित हँुदै गएको राजनीतिक घटनाक्रमले के देखाउंँछ भने चुनावमा मधेसबाट
जेजस्तो अभिव्यक्ति आए पनि मधेस लामो समयसम्म स्थिर रहने स्थितिमा छैन ।
मधेसको राजनीतिमा छालहरू उर्लिंदै रहनेछन् । किनभने चुनावको आफ्नै
सामाजिक—आर्थिक व्याकरण हुन्छ, मधेसमा ।
मधेसका बगैंचाहरूमा आंँप लटरम्म फलेको छ । कुन आंँपको स्वाद कस्तो छ, त्यो
त चाखेपछि नै थाहा हुन्छ । त्यसैगरी मधेस मोहका आवरणमा छरिएका नारा र
गरिएका प्रतिबद्धताहरूको स्वाद आम मधेसीले ती दल विशेषले निर्वाचनपश्चात
गठन हुने संविधानसभामा खेल्ने भूमिकाबाट पाउनेछन् । विगतमा भएको मधेस
विद्रोह र त्यसको पुरकको रूपमा सम्पन्न भएको अन्य पहिचानधर्मी आन्दोलनहरूले
खोजेको परिवर्तन र चाहेको प्रभुसत्ता प्राप्ति हुन्छ कि हँुदैन, त्यसमा नै
मधेसको भावी राजनीति तय हुन्छ । चुनाव एउटा प्रक्रिया हो, त्यो आफ्नै
किसिमले पुरा हुन्छ । तर मधेसमा एउटा स्थिरताको विकास होस् भन्ने अपेक्षा
राख्नेहरूले यो 'मोह' भित्रको नियतलाई बुझ्ने र बुझाउने प्रयत्न चुनावपूर्व
गर्नसके यसले केन्द्रीय राजनीतिको सन्तुलनलाई समेत प्रश्रय दिन्थ्यो ।
साभार ः कान्तिपुर
0 comments:
Post a Comment