Pages

Ads 468x60px

click here

Friday, June 14, 2013

कुवेतमा ५ सय नेपाली पक्राउ

काठमाडौं - डेढ महिनायता कुवेत प्रहरीले ५ सयभन्दा बढी नेपालीलाई पक्राउ गरेको छ। अवैध आप्रवासी कामदार पक्राउ गरी डिपोर्ट (स्वदेश फर्काउने) गर्ने अभियानअन्तर्गत विभिन्न स्थानमा छापा मारिएको हो। पक्राउमध्ये डेढ सयजतिलाई नेपाल फर्काइसकिएको छ। कुवेतमा रहेका करिब ७५ हजार नेपाली कामदारमध्ये ५ हजार अवैध रुपमा बसिरहेको आँकडा छ।
कुवेत सरकारले डेढ सयजति फर्काइसकिएको, बाँकीबारे थप अनुसन्धान गरिरहेको नेपाल पत्रकार महासंघ, कुवेत शाखाका अध्यक्ष सुजन केसीले जानकारी दिए। अनुसन्धानबाट अवैध ठहरिएका सबैलाई फिर्ता पठाइनेछ। नेपाली दूतावासलाई भने अवैध पुष्टि गरेर डिपोर्ट गर्ने सूचीमात्र पठाउने गरिएको छ।
'हाम्रो स्थलगत अध्ययनअनुसार ४५ दिनयता ५ सयभन्दा बढी नेपाली पक्राउ परेका छन्। यो साता फर्वानिया, हवली र सालमिया क्षेत्रबाट धेरै नेपाली महिला पक्राउ परेका छन्,' केसीले भने।
कुवेत सरकारले डिपोर्ट भइसकेका नेपाली कामदारको मात्र नामावली नेपाली दूतावास पठाएको छ। सूचीमा १ सय ३१ जनाको नाम छ जसमा ८७ महिला, ४४ पुरुष छन्। पक्राउ पर्नेको संख्या बढेपछि दूतावासले दुई कर्मचारी त्यहाँको प्रहरी कार्यालय निरीक्षण गरी डिपोर्ट गर्न लागिएकालाई ट्राभल डकुमेन्ट उपलब्ध गराउन खटाएको छ।
'छापा मार्ने क्रम दिनहुँ चलेको छ। कुवेतले हामीलाई सोमबारसम्मको मात्र तथ्यांक पठाएको हो। तीन दिनयताको तथ्यांक आएको छैन,' कुवेतका लागि नेपाली राजदूत मधुवन पौडेलले टेलिफोनबाट नागरिकसँग भने। पछिल्ला तीन दिनमा पक्राउ पर्ने आप्रवासी कामदारको संख्या निकै बढी रहेको दूतावासले जनायो।
सन् २०१३ भित्र कम्तीमा एक लाख अवैध आप्रवासी कामदार पक्राउ गरी डिपोर्ट गर्ने योजना छ। कुवेत प्रहरीले डेढ महिनादेखि त्यहाँका घर तथा उद्योग छापा मार्ने कामामा तीव्रता दिएको छ। हालसम्म फर्वानिया, उमरिया, जिलिव, जाहार, अहमदी, सुलेबिया, फिरदोसलगायत क्षेत्रमा व्यापक छापा मारेको छ।
सवारीसाधनमा समेत छापा मारेर अवैध आप्रवासी कामदार पक्राउ जारी छ। केसीका अनुसार दैनिक सयौं कामदार पक्राउ पर्ने गरेका छन्। डेढ महिनायता २० हजार बढी पक्राउ परेका छन् भने ११ हजार ८ सयलाई डिपोर्ट गरिसकेको छ।
छापा मार्दा अवैध नेपाली कामदारलाई उनीहरु बस्ने खाटमुनि, ड्रम, दराज र ट्वाइलेटमा लुक्दै गरेको अवस्थामा समेत पक्राउ गरेको थियो। पक्राउ परेका केही नेपालीबाट दर्जनौं बोतल रक्सी, रक्सी बनाउने भाँडा समेत भेटिएको र केही महिला वेश्यावृत्तिमा समेत संलग्न रहेको अभियोग स्थानीय प्रहरीले लगाएको छ।
'नेपाली महिला, पुरुष दुवै थरी कामदार रक्सी बनाउने गैरकानुनी काम गरेको अभियोगमा समेत पक्राउ परेका छन्,' अध्यक्ष केसीले बताए। कुवेतमा रक्सी खानु, बनाउनु र बेच्नु गैरकानुनी मानिन्छ। नेपाली कामदारले कुवेत जाँदा घरबाट लगेको मर्चा (रक्सी बनाउँदा मिसाइने पदार्थ) प्रयोग गरी प्रेसर कुकरमा रक्सी बनाउने गरेको राजदूत पौडेलले समेत स्विकारे।
'गैरकानुनी कार्य नगर भनेर हामीले बारम्बार सम्झाउने गरेका छौं, जति भन्दा पनि केही लागेन,' राजदूत पौडेलले भने, 'जाँच्ने हो भने समस्या परेर दूतावास आइपुग्ने प्रत्येक १० जनामा दुईजनाले रक्सी सेवन गरेकै भेटिन्छ, चाहे त्यो बिहान होस् या दिउँसो।'

एक साताअघि छापा मार्दा एकै ठाउँबाट २२ जना नेपाली महिला पक्राउ परेका थिए। भोलिपल्ट 'नेक्ट डे' कुवेती दैनिक पत्रिकाले ती महिला वेश्यावृत्ति अभियोगमा पक्राउ भएको उल्लेख गरेको केसीले बताए। पक्राउ पर्नेमा विवाह दर्ता कागजात नभएका, तर 'लिभिङ टुगेदर' भन्दै सँगै बस्दै आएका केही नेपाली पनि परेका छन्।
कुवेत अध्यागमनले केही दिनअघि ३ हजार महिला र २ हजार पुरुष गरी ५ हजार नेपाली गैरकानुनी तरिकाले काम गरिरहेको सूची सार्वजनिक गरेको थियो। सूचीमा पर्ने अधिकांश नेपाली २० नम्बर भिसा अर्थात् घरेलु कामदारका रुपमा जानेहरु छन्। २० नम्बर भिसामा जानेहरु जो नेपालबाट सम्झौता गरेको घरमा नबसी अन्यन्त्र काम गरेका छन्, त्यस्तालाई पक्राउ गरी डिपोर्ट गरिएको छ। 'भिसाका दृष्टिले उनीहरु अवैध होइनन्, तर कुवेतका कानुनअनुसार स्पोन्सरको घरभन्दा बाहिर काम गर्न पाइँदैन,' केसीले भने।
कुवेतमा एकजना नेपाली घरेलु कामदारलाई खानबस्नबाहेक न्यूनतम मासिक तलब ६० केडी (करिब २० हजार रुपैयाँ) दिनुपर्ने व्यवस्था छ। स्पोन्सरकोमा नबसी अन्यत्र दैनिक तीन/चार घरमा काम गर्दा मासिक न्यूनतम एक सय २० केडी (करिब ४० हजार रुपैयाँ) कमाइ हुने गर्छ। यसैकारण नेपाली घरेलु कामदारको भिसा किनी स्पोन्सरकोमा नबसी अन्यन्त्र काम गर्ने गर्छन्।
सन् २०११ मा अवैध आप्रवासी कामदारलाई बिना सजाय स्वदेश फिर्ता गर्न कुवेतले एम्नेस्टी (आममाफी) खुलाएको थियो। त्यतिबेला ४ हजार अवैध नेपाली कामदारले स्वदेश फर्कन दूतावासबाट यात्रा अनुमतिपत्र लिएका थिए। यात्रा अनुमति लिनेमध्ये २ हजारमात्र फर्किएका थिए भने बाँकी त्यहीँ लुकिछिपी बसेका थिए।

1 comments:

  1. म श्री एडम्स केभिन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै ठीक आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: तपाईं रुचि हो यो इमेल मा हामीलाई सम्पर्क यदि हामी, 3% ब्याज दर मा ऋण दिन।.

    ReplyDelete